नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ। बुधबार विहान सम्पन्न निर्णायक पाँचौं खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै शृंखला आफ्नो पक्षमा पारेको हो।
पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रनको योगदान दिइन्। नेपालको तर्फबाट कविता कुँवरले ४ ओभरमा १६ रन खर्चिँदै ३ विकेट लिइन् भने राजमती ऐरीले पनि ३ विकेट हात पारिन्।
१०४ रनको लक्ष्य पछ्याउँदै नेपालले १८ ओभरमै ५ विकेट गुमाएर जित सुनिश्चित गर्यो। रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् भने पूजा महतोले २३ रनको योगदान दिइन्। कप्तान रुबिना क्षेत्री १५ रनमा अविजित रहिन्।
मलेसियाका नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १–१ विकेट लिएका थिए।
यसअघि नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो र चौथो खेलमा क्रमशः ६ विकेटले जित निकालेको थियो। तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो। अन्तिम खेलमा प्रभावशाली प्रदर्शन गर्दै नेपालले शृंखला जित्न सफल भएको हो।













