नेकपा एमाले निकट अनेरास्ववियुले कञ्चनपुरमा समेत काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ (एनजिओ)का संयोजक सुदन गुरुङविरुद्ध उजुरी दर्ता गरेको छ।
गत २४ भदौमा भएको जेन–जी आन्दोलनमा घुसपैठ गराई विद्यार्थीको हत्या, निजी तथा सार्वजनिक सम्पत्तिको लुटपाट, तोडफोड र आगजनी गरेको आरोपसहित अनेरास्ववियुले प्रहरीमा जाहेरी दिएको हो।
अनेरास्ववियु कञ्चनपुरका संयोजक विक्रम थापाले संगठनको केन्द्रीय निर्देशनअनुसार जिल्लाबाट पनि उजुरी दर्ता गरिएको बताए। उनका अनुसार काठमाडौं महानगर प्रमुख बालेन शाह र सुदन गुरुङ नै उक्त घटनाका मुख्य योजनाकार हुन् र उनीहरूलाई मुलुकी फौजदारी संहिता, २०७४ का दफा १७७, १७८, २४४ र २८५ (२) को उपदफा (क) बमोजिम कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ।
यसअघि अनेरास्ववियुले कैलालीमा पनि बालेन र सुदनविरुद्ध यस्तै उजुरी दर्ता गरेको थियो।














