डोटीमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। दिपायलबाट आदर्श गाउँपालिकाको गोरेलीतर्फ जाँदै गरेको सुपप्र-०२-००१ च ११३५ नम्बरको बोलेरो जिप आइतबार साँझ आदर्श गाउँपालिका-४ ल्वारेगडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार जिप बेलुकी करिब ७ बजे कच्ची सडकमा अनियन्त्रित भई करिब १०० मिटर तल खसेको थियो। दुर्घटनापछि घाइते सबैलाई स्थानीय काँणीस्याउलेस्थित जिडी पोलिक्लिनिकमा उपचारका लागि लगिएको छ।
घाइतेहरूमा आदर्श गाउँपालिका-४, देहीमाडौंका २१ वर्षीय भगवती बिक, उनका १ वर्षीय छोरा राजन बिक, ५ वर्षीया रीतिका बिक, ३८ वर्षीय टीका बिक, १९ वर्षीय शेर बिक, १८ वर्षीया सरस्वती ओझा, २५ वर्षीय दिल्ली राज ओझा, २३ वर्षीया बिष्ना ओझा, ४ वर्षीय दीपेश ओझा, जिप चालक २८ वर्षीय मोहन बिष्ट, ३५ वर्षीय लालबहादुर बिष्ट र २२ वर्षीय सन्तोष बिष्ट रहेका छन्।
घाइते उद्धारका लागि प्रहरी निरीक्षक पदम राज पन्तको कमान्डमा नौ सदस्यीय प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।














