नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको थुनछेक बहस आज हुँदैछ। भक्तपुरको नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका अधिकारीविरुद्ध शुक्रबार बहस नसकिएपछि आजका लागि बहस तोकिएको हो।
शुक्रबार बकपत्र र थुनछेक बहसका लागि अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई विशेष अदालतमा पेश गरिएको थियो। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलास तोकिएको भए पनि एक न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भएपछि प्रक्रिया अघि बढ्न सकेन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन नपेस्दै र आवश्यक प्रक्रिया पूरा नगरी हेलिपोर्ट निर्माण अघि बढाइएकाे भन्दै अधिकारीसहितले भ्रष्टाचार गरेको निष्कर्ष निकालिएको छ।
अधिकारी र भण्डारीलाई गत बुधबार अख्तियारले नियन्त्रणमा लिएर सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।











