सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको आज सुनुवाइ हुँदैछ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार उनीहरूको मुद्दा न्यायाधीश तेजनारायण पौडेल र सागर विष्ट रहेको रुपन्देही जिल्ला अदालतको चार नम्बर इजलाशमा परेको हो। यसअघिको तोकिएको पेशी सार्वजनिक बिदा परेकाले स्थगित भएको थियो।
बुटवलस्थित सुप्रिम सहकारी संस्थामा भएको रकम ठगी र संगठित अपराध अभियोगमा दुवैजनामाथि मुद्दा चलिरहेको छ। गत साउन १३ गतेपछि यो मुद्दाको सुनुवाइ लगातार सारिँदै आएको छ।
लामिछानेले सहकारीमा देखिएको अनियमिततामा आफ्नो हिस्साको रकम दाखिला गरिसके पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले साउन २६ गते धरौटीमा रिहा गर्ने माग अस्वीकार गरेसँगै उनी पुर्पक्षका लागि थुनामै रहेका छन्।













