कैलालीको धनगढी उपमहानगरपालिकाबाट फरार रहेका ५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीले विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय ठहर गरेका उनीहरू लामो समयदेखि फरार थिए।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा २० दिन कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने भोजराज केसी रहेका छन्। त्यस्तै, लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका-८ बस्ने प्रदीप चौधरी पनि पक्राउ परेका छन्।
यसैगरी १ महिना १५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय ठहर भएका धनगढी उपमहानगरपालिका-३ बस्ने विशाल विश्वकर्मा, धनगढी उपमहानगरपालिका-२ बस्ने खगेन्द्र बहादुर सिंह तथा धनगढी उपमहानगरपालिका-३ बस्ने सागर राजीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको प्रहरीले जनाएको छ।














