राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। केहीबेरदेखि बैठक जारी रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
बैठकमा कोषाध्यक्ष लिमा अधिकारी, सोबिता गौतम र बसुमाया तामाङ अनुपस्थित छन्। प्रवक्ता झाका अनुसार लिमा अधिकारी हाल देशबाहिर रहेका छन् भने सोबिता गौतम पार्टी कार्यक्रमका लागि झापा जाने तयारीमा रहेकाले उपस्थित हुन सकेकी छैनन्। बसुमाया तामाङको उपस्थितिबारे जानकारी आएको भए पनि हालसम्म बैठकमा सहभागी नभएको उनले बताए।
सचिवालय बैठकमा १० वटा कार्यसूचीमाथि छलफल भइरहेको छ। कार्यसूचीको पहिलो नम्बरमै प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति तय गर्ने विषय समावेश छ। साथै, उम्मेदवार सिफारिस उपसमिति विस्तार गर्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय आगामी माघ ६ गते तोकिएको छ। यसअघि दलहरूले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। समानुपातिक बन्दसूचीमा देखिएका त्रुटि सच्याउन दलहरूले पुस २१ देखि २७ गतेसम्म समय पाएका छन् भने उम्मेदवारी फिर्ता लिन चाहनेका लागि पुस २८ गतेको मिति तोकिएको छ।
रास्वपाले समानुपातिक तर्फ चयन भएका उम्मेदवारको परिचालनसम्बन्धी विषयमा समेत सचिवालय बैठकमा छलफल गरिरहेको छ।














