मकवानपुर – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा आज बिहान भएको ट्रक दुर्घटनामा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्।
भारतको वनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला ल्याउँदै गरेको युपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रक चार्जिङ प्वाइन्ट नजिकै दुर्घटना हुँदा ट्रक चालक ४५ वर्षीय महेन्द्र यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
गाजीपुर जिल्लाको पुरैनियाँ निवासी यादव ट्रकभित्र च्यापिएर अचेत अवस्थामा भेटिएका थिए। उनलाई उद्धार गरी तत्काल हेटौंडा अस्पताल लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए।
उक्त दुर्घटनामा ट्रकका सहचालक २६ वर्षीय मनोज यादव घाइते भएका छन्। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।