कैलाली प्रहरीले ४० लाख ५५ हजार रुपैयाँ जरिवाना तोकिएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बैंकिङ कसुर र चोरीसम्बन्धी मुद्दामा फरार रहेका उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला अदालत कैलालीले उनीहरूलाई उक्त जरिवाना तोकेको थियो। प्रहरीले जिल्ला भित्रका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेकाहरूको नाम र ठेगाना उल्लेख नगरिए पनि थप अनुसन्धान भइरहेको जनाएको छ।