काठमाडौं – नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले संसदमा दर्ता भएका विधेयकहरू चालु अधिवेशनमै पारित गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले कानुन निर्माण प्रक्रिया ढिलो नगर्न आग्रह गरे।
सांसद आचार्यले भने कानुनहरू सबै फास्ट ट्रयाकमै बनाऔँ भन्ने मान्छे हो म संसदमा बोल्दा पनि भनेको छु जति पनि विधेयक ल्याउँछौँ भनेका छौँ त्यो नीति कार्यक्रम बजेट अन्यत्र त्यो यही अधिवेशनमा पास गरौँ भन्ने हो।
उनले महत्वपूर्ण विधेयकहरू यही अधिवेशनमा पास हुन नसके अध्यादेशमार्फत अघि बढाउनुपर्ने धारणा राखे। केही गरी यही अधिवेशनमा पास हुन नसके र महत्वपूर्ण छन् भने अध्यादेशबाट ल्याएर पनि काम अघि बढाउनुपर्छ उनले भने वर्षौंसम्म कानुनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन सकिँदैन मिल्दैन।
यद्यपि आचार्यले कानुन फास्ट ट्रयाकबाट बनाउँदा पनि गुणस्तरमा सम्झौता गर्न नहुने बताए। छिटो गर्ने नाममा छलफल नै नगरी कानुन लैजान नमिल्ने उनले स्पष्ट पारे।