कैलाली – विद्यालयस्तरका बालबालिकामाझ लागू औषध दुर्व्यसनको समस्या बढ्दै गएपछि कैलालीको गोदावरी नगरपालिकामा लागू औषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। अत्तरिया सञ्चार संघको आयोजनामा, गोदावरी नगरपालिकाको आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय मालाखेतीको सहकार्यमा गोदावरीका सात विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयमै लागू औषध प्रयोग हुने अवस्था देखिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। नवज्योति माविकी प्रधानाध्यापक बसन्ती भट्टले विद्यालयमै लागू औषध प्रयोग बढ्दै गएको र यसले पठनपाठनमा प्रतिकूल असर पारेको बताइन्। अबको अवस्था यस्तै रह्यो भने विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्छ उनले भनिन्।
राष्ट्रिय माविकी प्रधानाध्यापक निर्मला जोशीले बालबालिका मात्र होइन विद्यालय छोडेका युवाहरू पनि बेरोजगारीका कारण लागू औषधमा फस्ने गरेको उल्लेख गरिन्। वडाध्यक्ष तेजराज अवस्थीले विद्यालय आसपासमै लागू औषध दुर्व्यसन देखिन थालेको भन्दै नियन्त्रणका लागि प्रहरी प्रशासनको भूमिका अपरिहार्य रहेको बताए।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले लागू औषधलाई समाजको क्यान्सर भन्दै यसविरुद्ध विद्यालय, प्रशासन, सञ्चार क्षेत्र सबैको सहकार्य आवश्यक रहेको बताए। रोग लाग्नुभन्दा अगावै सावधानी अपनाउनु आवश्यक छ उनले भने।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले नीतिनियम मात्र होइन सचेतनाका कार्यक्रममार्फत ९५ प्रतिशतसम्म लागू औषध दुर्व्यसन नियन्त्रण गर्न सकिने दाबी गरिन्। यदि हामीले अहिलेका बालबालिकालाई बचाउन सकेनौँ भने गोदावरीको भविष्य अन्धकार हुन्छ उनले भनिन्।
सचेतना कार्यक्रम गोदावरी नगरपालिका–८ को शारदा मावि, वडा नं. ९ को राष्ट्रिय मावि, वडा नं. १ को गुह्येश्वरी मावि, वडा नं. ३ का खप्तड विद्या निकेत र नवज्योति मावि, वडा नं. २ को पुष्पाञ्जली मावि र वडा नं. ५ को शिद्धवावा माविमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक इन्द्रराज भट्ट र गोपाल जोशीले प्रशिक्षण दिएका थिए भने संयोजन बालकृष्ण भट्टराईले गरेका थिए। अत्तरिया सञ्चार संघका महासचिव ध्रुव ओझाका अनुसार कार्यक्रमले बालबालिकालाई सही मार्गमा फर्काउने विश्वास गरिएको छ।