काठमाडौं — नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको महत्वपूर्ण पारी खेले।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमै अलआउट भएको थियो। उसका लागि रोहन अस्टिनले सबैभन्दा धेरै २३ रन बनाए। उनले ९० भन्दा धेरै बल खेलेका थिए। रिहान नाइकले १५ रन जोडे।
नेपालका बलरहरू उत्कृष्ट प्रदर्शनमा रहे। अभय यादवले १० ओभरमा ३४ रन दिँदै ३ विकेट लिए। सुशिल बहादुर रावलले पनि ३ विकेट लिए भने शुभम खनालले २ र कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए।
नेपाल प्रतियोगिता भरि अपराजित रहँदै च्याम्पियन बनेको हो। समूह चरणमै नेपालसँग पराजित भएको सिंगापुर फाइनलमा पनि पराजित हुन बाध्य भयो।
साविक विजेता समेत रहेको नेपालले यसपटक पनि अपराजित यात्रा कायम राख्दै उपाधिको सफल रक्षा गरेको हो।