सिन्धुली — २२ वर्षअघि आफ्नै मामामाइजूको विभत्स हत्या गरेर फरार भएका केदारसिंह थापा अखेर पक्राउ परेका छन्।
उनीमाथि सिन्धुलीको दुधौली नगरपालिका–१३ निवासी ४५ वर्षीय रत्नबहादुर कार्की र उनकी श्रीमती दुर्गामाया कार्कीको हत्या गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार थापाले २०६० साल पुस ६ गते राति धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या गरेर फरार भएका थिए। थापाको स्थायी ठेगाना उदयपुरको कटारी हो।
नेपाल प्रहरीले २२ वर्षपछि विशेष सूचनाका आधारमा उनलाई दाङको लमही नगरपालिका–९, जलकुण्डीबाट असार २३ गते पक्राउ गरेको हो। उनले विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए।
जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार यो घटना अनुसन्धानको हिसाबले निकै चुनौतीपूर्ण थियो। फरार अभियुक्तलाई २२ वर्षपछि पक्राउ गर्न सफल हुनु प्रहरी संगठनका लागि ठूलो उपलब्धि हो।
पीडित परिवारको तर्फबाट मृतकका छोरा दुर्गाबहादुर कार्कीले घटनापछि तत्कालै किटानी जाहेरी दिएका थिए।
प्रहरी अनुसन्धान अनुसार मामा–भान्जाबीचको आर्थिक लेनदेन र जग्गा पास गर्ने विषयमा उत्पन्न विवादकै कारण थापाले मामामाइजूको हत्या गरेका थिए। उनी केही समय विदेशमा बसेर फर्किएका थिए।
हाल थापामाथि जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले घटनाबारे थप तथ्य संकलन गरिरहेको छ।