कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ भने एक पुरुष अझै बेपत्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीया चुनबुदिया चौधरीको शव कान्द्रा नदी किनारमा वेवारिसे अवस्थामा फेला परेको हो। दाउरा संकलन गर्न नदी किनार गएकी चौधरीलाई बाढीले बगाएको थियो। सनाखतपछि शव उनको नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
त्यस्तै, गोदावरी नगरपालिका–२ स्थित महराकटानमा गोदावरी नदी किनारमा अन्दाजी ५६ वर्षीया महिलाको शव फेला परेको छ। विभत्स अवस्थामा भेटिएको उक्त शवको सनाखत भने हालसम्म हुन सकेको छैन। शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
यसैबीच, गौरीगंगा नगरपालिका–२ को पुरानो चौमाला बजार नजिकैबाट नदी तर्ने क्रममा बगेका अन्दाजी ५० वर्षीय पुरुष अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षासँगै कैलालीका नदीहरूमा पानीको बहाव बढेसँगै जनधनको क्षति बढ्न थालेको छ। स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।