भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले देश कस्तो बनाउने भन्ने विषयमा अन्तिम निर्णय नागरिकले गर्न सक्नुपर्ने बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश राजनीतिले चलाउने भएकाले देशको भविष्य जनताको हातमा हुनुपर्ने धारणा राखे। तर नेपालमा राजनीतिक दलहरू नै सर्वशक्तिमान बन्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले नागरिकको शक्तिमा आधारित लोकतन्त्रको आवश्यकता औंल्याए।
‘राजनीतिले देश चलाउने भएकोले देश कस्तो बनाउने भन्ने कुराको निर्धारण नागरिकहरूले गर्नुपर्छ। तर हाम्रो देशमा दलहरू अत्यधिक संगठित भएका कारणले नागरिकभन्दा दल नै सर्वशक्तिमान देखिन्छ,’ महामन्त्री बुर्लाकोटीले भने, ‘लोकतन्त्रमा नागरिक र दल दुवै शक्तिशाली हुनुपर्छ, तर दलहरू नागरिकको सोच अनुसार निर्देशित हुनुपर्छ।’
उनले गणतन्त्र खतरामा परेको अवस्था नदेखिएकोले आफूहरू त्यसका पक्षमा आन्दोलनमा उत्रिन नपरेको पनि स्पष्ट पारे। बुर्लाकोटीको भनाइमा दलमाथिको निर्भरता हटाएर नागरिक केन्द्रित शासन व्यवस्थाको विकास गर्नु अहिलेको आवश्यकता हो।