कैलाली — कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीबीच कुटाकुट भएको छ। एक जना कैदीले कारागारभित्रकै मुल नाइकेलाई कुटपिट गरेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार झगडाका क्रममा एक जना कैदीको नाकमा चोट लागेको छ। घटनापछि कारागारभित्र कैदीबन्दीले होहल्ला सुरु गरेपछि स्थिति नियन्त्रणबाहिर जान सक्ने अवस्था देखिएपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणा कारागार पुगेका थिए।
एसपी राणाका अनुसार उनीहरूले कैदीबन्दीसँग कुराकानी गरी सम्झाइबुझाइ गरेपछि अवस्था अहिले सामान्य बनेको छ। उनका अनुसार कैलाली जिल्ला कारागारमा यसअघि पनि यस्ता विवाद र झैझगडा बारम्बार हुने गरेका छन्।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।