झापा जिल्लाको दमक नगरपालिका–३, बेलडाँगी बस्तीभित्रको एउटा न्यानो कोठामा प्रत्येक विहानी गुञ्जिने वैदिक मन्त्रहरूले अहिले सिंगो टोलमा आध्यात्मिक ऊर्जा फैलन थालेको छ। ती दिव्य स्वर अरू कसैका होइनन् ११ वर्षीया बाल–साधिका लक्ष्मी कालिकोटेका हुन्।
सानो अनुहार, चम्किला आँखा र निधारमा टल्किएको चन्दनको टीका। तर लक्ष्मी केवल उमेरले सानी छिन्, साधनाले उनले ठूलाठूला पुरूषार्थीलाई समेत लाज लगाउने तहको अभ्यास देखाएकी छन्।
लक्ष्मीले महाभारतको अनुशासन पर्वमा वर्णित श्रीविष्णु सहस्रनाम हजार नामको महान स्तोत्र केवल एक सातामै कण्ठस्थ गरेकी छन्। यो केवल स्मरण शक्ति होइन, श्रद्धा, समर्पण र अनुशासनको विलक्षण संगम हो। उनले शिवमहिम्न स्तोत्र, देवी पुस्पाञ्जलि, गीता अध्याय १५, र पुरुष सूक्तका १६ मन्त्रहरू पनि आत्मसात गरेकी छन्। मन्त्रको केवल उच्चारण होइन, त्यसको अर्थ र ऊर्जा पनि आत्मसात गर्न सक्ने उनको क्षमताले सारा समाजमा आश्चर्य र श्रद्धा जन्माएको छ।
पिता पण्डित मेघनाथ कालिकोटे ज्योतिष, वेद, भागवत र धर्मकथाका सिद्धहस्त ज्ञाता। आमा फुलमाया कालिकोटे नारी धर्म, निष्ठा र सेवा–भक्तिको मूर्तिमान छाया। उनी विश्वकर्मा समुदायबाट उत्पत्ति भएकी हुन् जसले कर्म, श्रद्धा र सामाजिक समर्पणको भाव बोकेको छ।

यसै सुसंस्कार, प्रेरणा र गुरु संस्कारशिरोमणि पण्डित गणेशप्रसाद पन्तको सान्निध्यले गर्दा लक्ष्मीको जीवन बाल्यकालमै साधनाको यात्रामा समर्पित भएको हो। १० वर्ष पूरा गरेर ११ औं वर्षमा प्रवेश गरेकी लक्ष्मी मन्त्र–जप, पूजा–विधि, आरती र भगवद्भावनामा यति प्रवीण छिन् कि देख्ने सुन्नेहरू श्रद्धाले नतमस्तक हुन्छन्। पञ्चाङ्ग हेरेर शुभ–अशुभ मुहूर्त निर्धारण गर्ने ज्ञान पनि उनीसँग छ।
बालिका भन्छिन् म सानो भए पनि मेरो सोच ठूलो छ। बाबाआमा र गुरुहरूले विश्वास गरे, म त्यसको सम्मान गर्दै छु। म पढ्छु, सिक्छु, बाँड्छु। उनी समाजमा फैलिएको अज्ञान, अधर्म र निराशामाथि ज्ञान र श्रद्धाको बीजारोपण गर्न चाहन्छिन्। धार्मिक मेला, पूजा–अनुष्ठान, सामूहिक कथा जहाँ लक्ष्मी पुग्छिन् त्यहाँ आस्थाको वातावरण बन्न थाल्छ। उनको स्वरमा मन्त्रले नयापन पाउँछ भक्तिभाव जागृत हुन्छ।

यो उमेरमा जब संसार रमाइलो खोज्छ उनी भगवत्कथामा रमाइरहेकी छन्। जब अरू बालबालिका खेलौना खोज्छन् उनी शङ्ख र घण्टको स्वर खोजिरहेकी छन्। लक्ष्मी कालिकोटे केवल एक बालिका होइनन् उनी युग–चेतनाको प्रतिनिधि हुन्। संस्कृतिको उज्यालो जुन अँध्यारोमा हराउँदै थियो त्यो फेरि बलिरहेको छ उनीजस्ता साधिकाहरूको समर्पणबाट।

भनिन्छ “धर्म पुस्ताबाट पुस्तामा हस्तान्तरण हुनुपर्छ।”लक्ष्मीजस्ता बाल–आचार्यहरूलाई देख्दा लाग्छ त्यो हस्तान्तरण मात्र होइन एउटा नयाँ पुनर्जागरण युगको आरम्भ भइसकेको छ। सानो घाम भए पनि अब उनको उज्यालोले धेरैलाई मार्ग देखाउने निश्चित छ।