काठमाडौं टोखा नगरपालिका–६ स्थित ग्राण्डी अस्पतालअगाडि भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ। स्कुटरमा सवार २४ वर्षीय सोनाम योञ्जनको माइक्रोबसको ठक्करबाट मृत्यु भएको हो।
टोखा निवासी सोनामलाई बा.प्र–०२–०४४ प ६४०५ नम्बरको स्कुटर चलाउँदै गर्दा बा.प्र–०१–०२–ज ७३७८ नम्बरको ईभी माइक्रोबसले ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
पेशाले पठाओ चालक रहेका सोनाम सर्लाही जिल्लाको हरिवन नगरपालिका–१ बिलन्दीका स्थायी बासिन्दा हुन् भने हाल काठमाडौंको थलीमा बसोबास गर्दै आएका थिए। उनकाे शव अहिले ग्राण्डी अस्पतालमा राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।