बैतडी – दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित ऐतिहासिक तथा धार्मिक स्थल पञ्चदेव शिवधाम सप्तदेवल मन्दिर संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ। द्वापरयुगमा बनबासको क्रममा पाण्डवहरूले एकै रातमा निर्माण गरेको जनविश्वास रहेको यो मन्दिर सुदूरपश्चिम प्रदेशकै दुर्लभ सम्पदामध्ये एक मानिन्छ।

स्थानीय किंवदन्ती अनुसार यस पवित्र स्थलमा सातवटा देवलहरू छन्। तीमध्ये तीनवटा देवलमा शिवलिङ्ग स्थापना गरिएको छ, जहाँ प्रत्येक संक्रान्ति, पूर्णिमा, शिवरात्रि र नवरात्रमा नित्य पूजा हुने गर्छ। मुख्य देवालयमा शिवजी, दोस्रोमा जगन्नाथ बाबा र तेस्रोमा गणेशजीको नामबाट पूजा गरिन्छ। बाँकी चारवटा देवलहरूमा लिङ्ग स्थापना नभए पनि पाण्डवहरूले मन्दिर निर्माणका क्रममा प्रयोग गरेका हातहतियारका कलात्मक चित्र ढुङ्गामा कोरिएका छन्।

मन्दिर नजिकै रहेको शिवकुण्ड सम्बन्धी अर्को जनश्रुति अनुसार यहाँको जललाई शिवजटाको जल मानिन्छ। यस कुण्डको पानीले स्नान गरे पुण्य प्राप्त हुने विश्वास रहँदै आएको छ। यही जल जगन्नाथ बाबा मन्दिरमा अभिषेकका रूपमा प्रयोग गरिन्छ।

स्थानीय उद्धवसिंह मार्कण्डका अनुसार पाण्डवहरूले बनाएको भनिएको यो मन्दिरका सबै संरचना ढुङ्गामा कोरिएका छन्। आजको प्रविधिको युगमा पनि यस्तो कलात्मक हस्तनिर्माण गर्न कठिन हुन्छ।

मन्दिरका सातवटा देवलमध्ये छैटौं पूर्ण रूपमा बनेका छन् भने सातौं देवल अधुरो छ। किंवदन्ती अनुसार, सातौं मन्दिर निर्माणको क्रममा उज्यालो भएपछि पाण्डवहरूले काम अधुरो छोडेका थिए।
वि.सं. १९९० को महाभूकम्पमा मन्दिरका केही भाग ढले पनि अहिले पुरातात्विक विभागको संरक्षणमा पुनर्निर्माण कार्य भइरहेको छ। विभागले यस मन्दिरलाई क वर्गको पुरातात्विक सम्पदाका रूपमा दर्ता गरेको छ।

यो धार्मिक स्थलमा देवलहाटका भट्ट परिवारका पुजारी र मार्कण्ड परिवारका भराणेहरूले मासिक रूपमा पूजा गर्छन्। विशेषगरी शिवरात्रीमा यहाँ अहोरात्र भजनकीर्तन, जाग्राम र ऊँ नमः शिवाय धनुको धुमधामका साथ पर्व मनाइन्छ।
किंवदन्ती अनुसार यस रात निसन्तान दम्पत्तिहरूले हातमा दियो बालेर शिवजीको नजिक रातभर खडा रहेमा सन्तान प्राप्त हुन्छ भन्ने विश्वास रहँदै आएको छ।
२०७९ पौष ३ गते नेपाल हुलाक सेवाले पञ्चदेवल मन्दिर अंकित टिकट प्रकाशन गरेको थियो भने २०६४ सालमा यो मन्दिर पुरातत्व विभागमा दर्ता गरिएको हो।
स्थानीयहरूको भनाइमा यस्तो ऐतिहासिक र चमत्कारी स्थल प्रचार र संरक्षणको अभावमा ओझेलमा पर्नु दुःखको विषय हो। उनीहरूले सरकार र सम्बन्धित निकायसँग यस सम्पदाको संरक्षण, पर्यटक आकर्षण र पूर्वाधार विकासमा ध्यान दिन आग्रह गरेका छन्।














