राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान ११ बजेबाट बस्दैछ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक करिब चार घण्टा चल्नेछ। असोज २२ गतेको बैठकको निरन्तरता स्वरूप आज पुनः बैठक बस्न लागेको झाले बताएका छन्।
बैठक पार्टी केन्द्रीय कार्यालय, चःमतिमा बस्नेछ। यस बैठकमा चारवटा मुख्य कार्यसूचीमाथि छलफल हुने जनाइएको छ विस्तारित बैठकको एजेन्डा र व्यवस्थाबारे, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता, आगामी अभियान र सद्भाव यात्राको कार्यसूची, साथै विविध विषयहरू।
रास्वपाले आगामी कात्तिक १४ र १५ गते विस्तारित बैठक बसाउने तयारी गरेको छ। सो बैठकले पार्टीको आगामी महाधिवेशनको टुङ्गो लगाउने बताइएको छ। त्यस्तै रास्वपाले पहिलो महाधिवेशन फागुन ७, ८ र ९ गते गर्ने निर्णय गरेको छ।














