कैलालीको गोदावरी नगरपालिका–१० खमैरामा एक दर्दनाक घटना घटेको छ। मध्यरातमा घरमै आएर मार्ने धम्की दिएपछि ज्यान जोगाउन भागेका शेरबहादुर चौधरी घरनजिकै मृत फेला परेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ, डडेल्धुराको गन्यापधुराका विकास मल्लले असोज २३ गते राति २ बजे शेरबहादुरको घरको ढोका तोड्दै “मार्छौं” भन्दै हानाहान गरेका थिए। डरले पछाडिको ढोकाबाट भागेका शेरबहादुरको शव भोलिपल्ट असोज २४ गते गोदावरी र ओलानी नदीको दोभानमा फेला परेको हो।
घटनाको पृष्ठभूमिमा अत्तरियास्थित एक डान्स बारमा भएको विवाद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मृतकका भाइ रमेश चौधरीले सोही बारमा लक्की र विकाससँग विवाद भएको बताएका छन्। त्यसपछि शेरबहादुरले आफ्ना भाइको पक्ष लिँदै लक्की र विकासलाई केही मुक्का हानेका थिए।
सोही घटनाको केही घण्टामै लक्की र विकास शेरबहादुरकै घर पुगेका थिए। उनीहरूले लाठी प्रहार गर्दै ढोका फुटाएपछि शेरबहादुर भागेका थिए। त्यसपछि बेपत्ता भएका उनी भोलिपल्ट खोलामा मृत अवस्थामा फेला परे।
मृतकका आफन्तले लक्की र विकासले नै शेरबहादुरलाई लखेटी हत्या गरेको दाबी गर्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दर्ता गराएका छन्। शेरबहादुरका भाइ रमेशले “दाइ ढोका फुटाएपछि भागे, लक्की र विकासले पछ्याएर मारे र खोलामा फाले,” भन्दै कडा कारबाहीको माग गरेका छन्।
मृतककी भाइबुहारी सलिना चौधरीले पनि आफूहरूको सुरक्षाको माग गरेकी छन्। उनका अनुसार लक्की र विकासले आफ्नो श्रीमानलाई समेत मार्ने धम्की दिएका थिए।
डिएसपी चन्दका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको छ र रिपोर्ट आएपछि थप विवरण खुल्ने उनले बताएका छन्।
घटनापछि गाउँमा त्रास फैलिएको छ। नवराज भट्ट नामका स्थानीयले सोही रात लक्की र विकास आफ्नै घरमा पनि पुगेको र आफूलाई पनि मार्न आउने आशंका भएको बताए। प्रहरीलाई खबर गरेपछि मात्र ज्यान जोगिएको उनले बताएका छन्।
प्रहरीले घटनामा संलग्न लक्की मल्ल र विकास मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।














