मालिकार्जुन गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक तथा धार्मिक धरोहर श्री मालिकार्जुन लटिनाथ चाडि मन्दिर परिसरमा यस वर्ष कार्तिक शुक्ल पञ्चमीका दिन अर्थात् २०८२ साल कार्तिक ९ गते आइतबार रात्रीकालीन भव्य जात्रा आयोजना गरिने भएको छ।
मालिकार्जुन लटिनाथ चाडि विकास समितिका अनुसार रात्रीकालीन जात्रालाई सव्य र भव्य रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको छ। समितिले सम्पूर्ण आदरणीय भक्तजनहरुलाई जात्रामा सहभागी हुन हार्दिक आमन्त्रण गरेको छ।

समितिले धार्मिक वातावरणलाई पवित्र र शान्त राख्नका लागि कानुनले वर्जित गरेका कार्य नगर्न तथा नगराउन अनुरोध गरेको छ। विशेषगरी मन्दिर परिसरभित्र जुवातास खेल्ने, जाँड–रक्सी बिक्री गर्ने वा सेवन गर्ने कार्य पूर्णरुपमा प्रतिबन्धित गरिएको समितिले जनाएको छ।
मन्दिरका सहायक पुजारी तथा रुद्राभिषेककर्ता श्री विष्णु राजपन्त शास्त्री का अनुसार यस वर्षको जात्रामा विशेष पूजापाठ, रुद्राभिषेक र धार्मिक अनुष्ठानहरु गरिने छन्। उनले भक्तजनहरुलाई श्रद्धा, भक्ति र अनुशासनसहित सहभागिता जनाउन आग्रह गरेका छन्।

जात्रा सुरक्षित र व्यवस्थित बनाउनका लागि मालिकार्जुन प्रहरी चौकीलाई आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन औपचारिक अनुरोध गरिएको पनि समितिले जनाएको छ।
समितिले सबै भक्तजन र स्थानीयवासीहरुलाई धार्मिक सद्भाव, शान्ति र अनुशासन कायम राख्दै परम्परागत सांस्कृतिक महत्त्व झल्काउने गरी जात्रा मनाउन आग्रह गरेको छ।














