काठमाडौं – विवेकशील साझा पार्टीले जेनजी आन्दोलनसँगै वैकल्पिक राजनीतिक शक्ति, अभियान, समूह र परिवर्तनकारी अभियन्ताहरूबीच बृहत् एकताको आह्वान गरेको छ ।
पार्टीका प्रवक्ता आशुतोष प्रधानले आइतबार वक्तव्य जारी गर्दै समृद्ध नेपाल निर्माणका लागि नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता, समूह र सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत् एकीकरणका लागि सबै ढोका खुला रहेको बताएका छन् ।
‘सबै प्रकारका खुला छलफल, बहस र बृहत् नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सरोकारवालाहरूप्रति सार्वजनिक आह्वान गर्दछौं,’ वक्तव्यमा उल्लेख गरिएको छ ।
जेनजी विद्रोहलाई ऐक्यवद्धता जनाउँदै विवेकशील साझाले त्यसकै जगमा बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई स्वागत गर्दै सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
पार्टीले आगामी २१ फागुनमा तोकिएको निर्वाचनमा सहभागी हुने निर्णय गरेको जनाएको छ ।














