नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ। शुक्रबार भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जितेर शानदार रूपमा च्याम्पियन बनेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल योगफल बनायो। आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन जोडे। अन्त्यतिर लोकेश बमले ११ बलमा ३९ रनको तुफानी इनिङ्स खेल्दै टोलीलाई बलियो स्कोरसम्म पुर्याए। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे।
जवाफमा सामोआ २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमै सीमित रह्यो। उसका लागि सिन सोलियाले ४० रन बनाए। नेपालको बलिङमा ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट हात पारे।
यो जितसँगै नेपालले ११ वर्षपछि आईसीसी प्रतियोगिताको उपाधि हात पारेको हो। पछिल्लो पटक नेपालले सन् २०१४ मा आईसीसी डिभिजन–४ को उपाधि जितेको थियो। त्यसपछि नेपालले कुनै पनि आईसीसी आयोजनाको प्रतियोगिता जित्न सकेको थिएन।
यसअघि नेपालले समूह चरणमा कुवेत र जापानलाई हराउँदै सुपर सिक्समा स्थान बनाएको थियो। सुपर सिक्समा नेपालले यूएईलाई १ रन, कतारलाई ५ रन र ओमानलाई ३८ रनले हराउँदै अपराजित यात्रा कायम राखेको थियो।
छनोट प्रतियोगिताबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपका लागि टिकट पक्का गरेका छन्।














