बाजुरा — जिल्लाका हिमाली क्षेत्रका किसानले यस वर्ष स्याउ बिक्री गरेर झण्डै एक करोड २० लाख रुपैयाँ आम्दानी गरेका छन्। हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, खप्तड छेडेदह र गौमुल गाउँपालिकाका किसानहरूले गाउँमै उत्पादन गरेको अर्गानिक स्याउ देशका विभिन्न सहरमा बिक्री गरेका हुन्।
किसानहरूको भनाइ अनुसार यो वर्ष स्याउ उत्पादन गत वर्षभन्दा केही कम भए पनि बजार बिक्री राम्रो भएकाले आम्दानी उल्लेख्य भएको छ। गत भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भए पनि बाटो अबरुद्ध हुँदा समयमै बजार पुर्याउन नसक्दा केही घाटा बेर्होनु परेको बुढीनन्दा नगरपालिका–स्थित किसान मानबहादुर रावतले बताए। उनका अनुसार गत वर्ष जस्तै यस वर्ष पनि स्याउ पाक्ने बेला बाटो बन्द हुँदा समस्या भयो तर अहिले कर्णाली करिडोर खुल्दा बिक्री सहज भएको छ।
स्वामिकार्तिक खापर गाउँपालिकाका किसानले मात्र करिब ४० लाख रुपैयाँ बराबरको स्याउ बिक्री गरेको कृषि विकास शाखा प्रमुख विनोद शाहीले जानकारी दिए। उनका अनुसार गाउँपालिकाका झण्डै २ हजार घरधुरीमध्ये १६ सय परिवारले स्याउखेती गर्छन्। हालसम्म १२ ट्रक स्याउ सुर्खेत, नेपालगञ्ज, धनगढी लगायतका सहरमा बिक्री भइसकेको उनले बताए।
बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा क्षेत्रमा स्याउ राम्रो फल्ने गरेको छ भने बुढीगङ्गा, खप्तड छेडेदह, बडिमालिका र गौमुलमा पनि स्याउ उत्पादन हुने गरे पनि मल्लो क्षेत्रमा उत्पादन बढी हुने किसानहरूको भनाइ छ।














