जेनजी आन्दोलनको क्रममा कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा प्रहरीले काठमाडौँ–१३ का ३८ वर्षीय सचिन खडका उर्फ गोल्डेनलाई पक्राउ गरेको छ। भदौ २४ को प्रदर्शनमा उनले थ्रिनट थ्री राइफल, खुँडा र खुकुरीसहित समूहको नेतृत्व गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
प्रहरीका अनुसार खडकाले आफ्नो वडास्थित कार्यालय र सोल्टिमोडस्थित वडा कार्यालयमा समेत आगजनी गरेको अनुसन्धानमा खुलेको छ। उनलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा अदालतको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
आगजनी र लुटमा संलग्न अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिएको छ। प्रदर्शनका क्रममा विभिन्न प्रहरी युनिटमा आगजनी हुँदा थुनुवा राख्ने र कार्यालय सञ्चालन गर्न कठिनाइ भएको प्रहरीले बताएको छ।












