बझाङको बित्थडचिर गाउँपालिकामा खेल मैदान निर्माणमा अनियमितता गरेको आरोपमा पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार बित्थडचिर गाउँपालिका-१ स्थित तल्लो बित्थड खेल मैदान निर्माणका क्रममा भ्रष्टाचार भएको पाइएको छ।
अख्तियारले जनाएअनुसार ठेकेदारले तत्कालीन गाउँपालिका अध्यक्षसँग मिलेमतो गरी कमसल निर्माण सामग्री प्रयोग गरेको, प्राविधिक रूपमा आवश्यक डिपिआर (DPR) नगरी निर्माण गरिएको, तथा काम पूरा नगरी रकम हिनामिना गरिएको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।
उक्त खेल मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख रुपैयाँ र सांसद विकास कोषबाट १५ लाख रुपैयाँ गरी जम्मा ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
अख्तियारका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट,सब-इन्जिनियर गणेशराज उपाध्याय, लेखापाल हर्कदेव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीले आपसी मिलेमतो तथा योजनाबद्ध रूपमा गैरकानुनी लाभ लिएको दाबी गरिएको छ।
उनीहरू सबैविरुद्ध जनही १४ लाख ६६ हजार ५०३ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।














