बैतडीको पाटन नगरपालिका वडा नम्बर-३ स्थित धार्मिक एवं ऐतिहासिक स्थल बनारसी धाम, विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरमा यस वर्ष १४४ वर्षपछि महाकुम्भ मेला आयोजना हुने भएको छ। धामका पीठाधीश्वर आचार्य गणेशप्रसाद पन्तका अनुसार माघ १ गतेदेखि मकर स्नानसँगै सुरु हुने धार्मिक कार्यक्रम अन्तर्गत मासभरि मास पारायण मेला सञ्चालन गरिनेछ।

पीठाधीश्वर पन्तले जानकारी दिएअनुसार माघ ५ गतेदेखि नवरात्र प्रारम्भ हुनेछ भने माघ १४ गते शल्य दशमीका दिन मुख्य मेला लाग्नेछ। महाकुम्भ मेलामा बैतडी जिल्लासहित छिमेकी जिल्लाहरू तथा भारतको उत्तराखण्ड र उत्तर प्रदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
धार्मिक मान्यताअनुसार बनारसी धाममा स्नान, दर्शन तथा पूजाआजा गरेमा पाप नाश हुने र मनोकामना पूरा हुने विश्वास रहिआएको छ। यस कारण हरेक वर्ष यहाँ ठूलो संख्यामा श्रद्धालुहरू आउने गरेका छन्।
बनारसी धाम नेपालको धार्मिक इतिहासमा जातीय समानता र सामाजिक समावेशिताको अनुपम उदाहरण मानिन्छ। यहाँ ४२१ वर्षअघि नै जातीय छुवाछूतको अन्त्य गरिएको इतिहास छ। धाम परिसरमा कुनै पनि किसिमको जातीय विभेद गर्न नपाइने स्पष्ट नियम रहेको छ।
यहाँको अर्को विशिष्ट परम्परा भनेको मूल पुजारी सधैं दलित समुदायका व्यक्ति हुने व्यवस्था हो। हाल धाममा कुणीका धिरे लुहार, बस्तीका पदमे लुहार, बोहरीका गौरे लुहार, नङाणीबाटाका नरिभान लुहार, खिपालीका झुले लुहार र गोकुलेश्वरका जनक लुहार मूल पुजारीका रूपमा कार्यरत छन्।
धाममा पूजा क्रम कुणीबाट सुरु भई गोकुलेश्वरसम्म सञ्चालन हुने प्राचीन परम्परा छ। पाटन-३ गुजारबाट पुजारीहरूले आफैं पूजा सामग्री बोकेर ल्याउने चलन रहिआएको छ। साथै चन्द थरका चुनिएका व्यक्ति सहस्त्रलिङ्गका धामीसँगै सिंहासनमा बसेर पूजा सघाउने व्यवस्था पनि कायम छ।
गुजारस्थित सुकाबैना भट्ट परिवारका मुखियाहरू पूजाआजाका क्रममा सहयोगी भूमिकामा खटिँदै आएका छन्।
महाकुम्भ मेलाले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, समानता र धार्मिक सहिष्णुताको सशक्त सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। यसले स्थानीय स्तरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
धाम व्यवस्थापन समितिले मेलालाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाएको जनाएको छ।














