दक्षिणी लेबनान – शनिबार भएको इजरायली सेना को हवाई आक्रमण र सैन्य कारबाहीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।
स्थानीय स्वास्थ्य तथा सरकारी स्रोतका अनुसार आक्रमणहरू विभिन्न गाउँहरूमा केन्द्रित थिए। ती आक्रमणबाट घर, सवारी साधन तथा अन्य नागरिक संरचनाहरूमा समेत क्षति पुगेको बताइएको छ।
यसैक्रममा सीमा नजिकको यारुन गाउँमा रहेको एक क्याथोलिक कन्भेन्टको केही भाग बुलडोजर प्रयोग गरी ध्वस्त पारिएको छ। उक्त कन्भेन्ट पहिले नै खाली भइसकेको थियो र त्यहाँ रहेका दुई ननहरू युद्धका कारण विस्थापित भइसकेका थिए।
इजरायलले उक्त कारबाहीलाई हिजबुल्लाह सँग सम्बन्धित पूर्वाधार नष्ट गर्ने अभियानको हिस्सा भएको दाबी गरेको छ। सो स्थानबाट विगतमा इजरायलतर्फ रकेट प्रहार गरिएको आरोप पनि लगाइएको छ।
साथै इजरायली सेनाले उक्त भवन धार्मिक संस्था भएको जानकारी पाएपछि थप क्षति रोकिएको जनाएको छ।
तर लेबनानको क्याथोलिक चर्चले यी दाबीलाई अस्वीकार गर्दै उक्त स्थान धार्मिक, शैक्षिक तथा मानवीय प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको स्पष्ट पारेको छ। चर्चका प्रतिनिधिहरूले धार्मिक स्थललाई सैन्य प्रयोजनमा प्रयोग गरिएको आरोपलाई असत्य भन्दै कडा आपत्ति जनाएका छन्।
यसैबीच इजरायल र हिजबुल्लाह बीचको तनाव कायमै रहेको छ। यद्यपि अप्रिल १७ देखि युद्धविराम लागू भएको भनिए पनि सीमा क्षेत्रमा आक्रमण र प्रत्याक्रमण रोकिएको छैन।
इजरायली सेनाले पछिल्लो २४ घण्टामा करिब ५० वटा हवाई आक्रमण गरी हिजबुल्लाहका पूर्वाधार र लडाकुहरूलाई लक्षित गरिएको दाबी गरेको छ। साथै दक्षिणी लेबनानका ९ वटा गाउँका बासिन्दालाई तत्काल स्थान खाली गर्न चेतावनी दिइएको छ जसले स्थानीयमा त्रास र थप विस्थापनको अवस्था सिर्जना गरेको छ।












