कैलाली – बदलिंदो प्रविधिमैत्री युगसँगै किशोरकिशोरीहरूको अध्ययन संस्कृतिमा देखिएको गिरावटप्रति गहिरो चिन्ता व्यक्त गर्दै, लम्कीचुहा नगरपालिका–१, भुरुवास्थित कालिका माध्यमिक विद्यालयमा एक सन्देशमूलक र चेतनामूलक साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ‘पढ्ने संस्कृतिको पुनर्जागरण : किताबप्रेमको पुनःस्थापना’ भन्ने मूल भाव बोकेको यो कार्यक्रमले विद्यार्थीहरूमा साहित्यिक चेत, पाठ्य संस्कार र आत्मपरीक्षणको वातावरण सिर्जना गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक दिलराज थापाले गर्नुभयो। उहाँले शिक्षालय मात्र ज्ञानार्जनको स्थल नभएर नैतिकता, विचार र संस्कार निर्माणको थलो पनि हो भन्ने धारणा प्रस्तुत गर्दै यस्तो प्रकारका कार्यक्रमहरूको निरन्तरतामा विद्यालयले विशेष प्राथमिकता दिने बताउनुभयो।
कार्यक्रमको सञ्चालन नेपाली साहित्य र शिक्षाशास्त्रमा समर्पित शिक्षक सिद्धराज जोशीले शालीन र प्रभावकारी शैलीमा गर्नुभएको थियो। प्रारम्भमा स्वागत मन्तव्य राख्दै वरिष्ठ शिक्षक रामप्रसाद तिमल्सिनाले शिक्षाको मूल सार र साहित्यको भूमिकालाई जोडेर गहकिलो मन्तव्य प्रस्तुत गर्नुभयो। “शिक्षा केवल परीक्षामा पास हुने औजार होइन, यो जीवन बुझ्ने आँखाको विकास हो,” भन्ने तिमल्सिनाको भनाइले उपस्थित सम्पूर्णलाई भावविभोर बनायो।
कार्यक्रमको विशेष आकर्षण बनेका थिए चर्चित कथाकार तथा मदन पुरस्कार विजेता रामलाल जोशी। उहाँको उपस्थितिले सम्पूर्ण कार्यक्रमलाई एक ऐतिहासिक साहित्यिक क्षणमा रुपान्तरण गरिदिएको थियो। विद्यार्थीहरूसँग खुला संवाद गर्दै जोशीले आजको पुस्तामा बढ्दो मोबाइल निर्भरता र घट्दो पठन संस्कृति प्रति गहिरो चिन्ता प्रकट गर्नुभयो।
“हिजो जसले किताब समाउँथे, आज ती हातहरू मोबाइलको पर्दामा हराएका छन्। चेतना नपकाउने हो भने हामी सोच्न सक्ने होइन, हेर्न मात्र सक्ने पुस्ता उत्पादन गर्दैछौं,” — रामलाल जोशी
उहाँले आफ्नो चर्चित कथा संग्रह ‘ऐना’ को रचनात्मक यात्रा सुनाउँदै त्यस पुस्तकको सिर्जनात्मक भित्री कथा विद्यार्थीहरूसँग साझा गर्नुभयो। “साहित्य केवल मनोरञ्जन होइन, यो आत्मपरीक्षणको ऐना हो। जो पढ्छ, उही लेख्न सक्छ; र जो लेख्छ, उही सोच्न सक्छ,” भन्ने जोशीको मन्तव्यले विद्यार्थीसँग किताबसँग मित्रता गर्न गहिरो प्रेरणा दियो।
विद्यार्थीहरूका जिज्ञासाहरू सुनेर जोशीले साहित्य लेखन, पढ्ने बानी बसाल्ने तरिका, र सशक्त व्यक्तित्व विकासमा पढाइको भूमिकाबारे गहन उत्तरहरू दिनुभयो। कार्यक्रमको क्रममा जोशीले ‘कसरी लेखन सुरु गर्ने?’, ‘समय व्यवस्थापन कसरी गर्ने?’ लगायत विषयमा मार्गदर्शन गर्दै किशोरावस्थामा सकारात्मक सोचको निर्माणमा पठनपाठनको महत्वलाई जोड दिनुभयो।
कार्यक्रममा शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूको अनुहारमा उत्साह, कौतुहलता र नवप्रेरणा प्रस्ट देखिन्थ्यो।
कार्यक्रमको समापनतर्फ प्रधानाध्यापक थापाले मन्तव्य दिँदै भन्नुभयो —
“हामी केवल शिक्षित होइन, चिन्तनशील पुस्ता तयार गर्न चाहन्छौं। त्यसका लागि पढ्ने बानी, संवादशीलता र साहित्यप्रति झुकाव अपरिहार्य छन्। यस्ता कार्यक्रमहरूले हाम्रो यात्रालाई उचाइ दिन्छन्।”
कार्यक्रमको अन्त्यतर्फ विद्यालय परिवारद्वारा प्रमुख अतिथि जोशीलाई खादा, टिका र सम्मानपत्रसहित विशेष सम्मान अर्पण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय अगुवाहरूले पनि कार्यक्रमको प्रशंसा गर्दै यस्ता सिर्जनात्मक क्रियाकलापहरू विद्यालय स्तरमै सञ्चालन हुनु गर्वको विषय भएको धारणा व्यक्त गरे।
कालिका माविले यस्ता साहित्यिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै आगामी दिनमा स्थानीय र राष्ट्रिय स्तरका अन्य साहित्यकारहरूलाई पनि आमन्त्रण गरी शृंखलाबद्ध कार्यक्रम आयोजना गर्ने योजना गरेको छ।
यस कार्यक्रमले केवल एउटा सामान्य साहित्यिक समारोहको भूमिका मात्रै खेलेन, बरु शिक्षामा संस्कार, अध्ययनमा गम्भीरता र सोचमा गहिराइ थप्ने ऐतिहासिक पाइलाको रूपमा चिनिएको सहभागीहरूको मत थियो।
कार्यक्रममा साहित्यिक तर्फ आकर्षित कलाकार यज्ञराज उपाध्यायको उपस्थिति रहेको थियो रहेको थियो । विद्यार्थीहरूमा गीत गाएर मनोरञ्जन समेत दिनुभएको थियो। उहाँको गीत सुनेर कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई मनोरञ्जन लिएका थिए। उहाँले आफूले गाएका जुन तारा , राइ झुमा सहित अन्य गीत गाएर मनोरञ्जन दिनुभएको थियो। उहाँले दर्जनौं दर्जन गीतहरू रेकर्ड गराउनु भएको छ।