कैलाली — कैलालीको घोडाघोडी नगरपालिकामा बुधबार कान्द्रा नदीले बगाउँदा एक वृद्धा महिलाको मृत्यु भएको छ।
वडा नं. ४ माघी गाउँकी ७० वर्षीया चुनबुधिया चौधरीको शव नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ। प्रहरीका अनुसार उनी बोल्न नसक्ने र सुन्न गाह्रो हुने थिइन्। बुधबार बिहान दाउरा खोज्न घरबाट निस्केकी वृद्धा नदीमा पानीको बहाव तीव्र भएपछि बगाएको हुनसक्ने आशंका गरिएको छ।
ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार घोडाघोडी–१० स्थित कान्द्रा नदीको पुलभन्दा उत्तरतर्फ तटबन्धन नजिकै स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थलमा पुगेर शव उद्धार गरी मृतकको परिवारलाई जानकारी दिएको थियो।
शवको सनाखत मृतकका छोरा रामकृष्ण चौधरीले गरेका छन्। पोस्टमार्टमका लागि शव बर्दगोरिया अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।