चितवन — भरतपुर अस्पतालको सेफ्टिक ट्याङ्कीमा खसेर घाइते भएकी एक पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।
असार ३० गते दिउँसो करिब ४ बजे अस्पतालको ‘सी ब्लक’ नजिकैको ठूलो सेफ्टिक ट्याङ्कीमा खेल्दै गर्दा खसेकी अन्जना मगरको उपचारको क्रममा मंगलबार साँझ ६ः४० बजे निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
बालिका अन्जना मगर भरतपुर अस्पतालमै कार्यरत कर्मचारी विकास मगरकी छोरी हुन्। ट्याङ्कीमा खसेपछि केही समयमै उद्धार गरेर उनलाई तत्काल अस्पतालको आइसीयूमा भर्ना गरिए पनि अवस्था गम्भीर बन्दै गएपछि ज्यान जोगाउन सकिएन।
घटनापछि अस्पताल परिसरमा सुरक्षाको लापरवाही भएको भन्दै स्थानीयबासी र कर्मचारीहरूबीच चासो र चिन्ता व्यक्त गरिएको छ। अहिले घटनास्थल र सेफ्टिक ट्याङ्की वरिपरि सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको जनाइएको छ।