कपिलवस्तु र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका–१ उमरीमा बस र अटो ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने झापाको मेचीनगरमा स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९०१३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ह ४१५४ नम्बरको अटो एकआपसमा ठोक्किँदा ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना रानाको मृत्यु भएको हो।
घटनामा घाइते भएका पवित्रा सुनार र शक्ति भण्डारीको सिटी अस्पताल, भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र सिंहले जानकारी दिए।
झापाको मेचीनगर–१२, सहरेडाँगीमा आइतबार बेलुकी ७:३० बजे पैदल हिँडिरहेका एक पुरुषलाई मे १ च ६१३१ नम्बरको स्कारपियोले ठक्कर दिई फरार भएको थियो।
करीब ४५ वर्षका ती पैदलयात्रीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको सनाखत हुन बाँकी छ।
ठक्कर दिएर भागेको स्कारपियोसहित झापा हल्दीवारी–१ का ४८ वर्षीय गजेन्द्रबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाका विषयमा थप अनुसन्धान जारी राखेको जनाएको छ।