अछाम — अछामको ढकारी गाउँपालिका–४ स्थित बसन्त सामुदायिक वन क्षेत्रभित्र बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।
घाइते व्यक्ति ढकारी गाउँपालिका–४, भिमड घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१, फलिबिसौनामा बसोबास गर्दै आएका ४८ वर्षीय धर्मसिंह थापा हुन्। शनिबार पुख्र्यौली घर हेर्न भिमड फर्किएका थापा बाघको आक्रमणमा परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
थापा सामुदायिक वन क्षेत्र अन्तर्गतको बोके खोला नजिक पुग्दा अचानक जंगली बाघले आक्रमण गरेको थियो। आक्रमणमा परि उनको बायाँ हात, घाँटी र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते थापालाई उपचारका लागि जिल्ला अस्पताल अछाम, मंगलसैन ल्याइएको छ। हाल उनको अवस्था मध्यम रहेको जनाइएको छ।
प्रहरी र स्थानीयवासीले वन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्।