बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–४ देवलहाट क्षेत्रमा भदौ १५ गते भव्य रूपमा गौरापर्व सम्पन्न गरिएको छ। पञ्चदेवल शिव धाम र सप्तदेवल मन्दिर परिसरमा विशेष धार्मिक विधि–विधानका साथ सम्पन्न हुने यस पर्वमा परम्परागत ‘लाखेनाच’ प्रमुख आकर्षण बनेको थियो।

गौरापर्वको अवसरमा भट्ट र मार्कण्ड जातिका पाँच वा सात जना पुरुषले शरीरमा कपडा नलगाई, पवित्र रुखका पात बेरेर, हातमा त्रिशुल समात्दै परम्परागत नृत्य प्रस्तुत गर्ने चलन रहँदै आएको छ। सहभागीहरूले मन्दिर नजिकैको सुकनाली कुइँवामा स्नान गरी शुद्ध भएपछि तरुलका लहरा, केराको पात तथा अन्य आयुर्वेदिक पातले सजिन्छन्। त्यसपछि कमेरो, रातो माटो र खरानीको टीका लगाएर नृत्य प्रस्तुत गर्ने परम्परा अझै जीवित छ।
स्थानीयको भनाइमा देवलहाटको पञ्चदेवल मन्दिरमा गौरापर्वको दिन मात्रै प्रस्तुत गरिने लाखेनाच परम्परा बैतडीको पुरानो सांस्कृतिक सम्पदा हो। यसले स्थानीय मौलिकता र धार्मिक जीवन्ततालाई आजसम्म जगेर्ना गरेको बताइन्छ।
गौरापर्वको यस अनौठो परम्पराले धार्मिक वातावरणसँगै सांस्कृतिक उत्सवको रौनक पनि थपिदिएको छ।
