कैलालीमा लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१, बिजौरास्थित माछापोखरी नजिकै चेकजाँच गर्ने क्रममा त्यहीँ बस्ने २७ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको हो। चौधरीले चलाएको से.३ प ५१४१ नम्बरको मोटरसाइकलको अगाडिको भाइजर मुनि र ह्याण्डिलको टी–गार्डको प्वालभित्र लुकाएर राखिएको अवस्थामा ९ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी टीकापुर नगरपालिका–६ नारायणपुर चोकमा ४१ वर्षीय नारायण डगौरा पनि पक्राउ परेका छन्। उनलाई शंकास्पद अवस्थामा हिँडिरहेको बेला इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले चेकजाँच गर्दा मुखमै लुकाइराखेको २३० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।