काठमाडौँ – प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा धर्ना दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार विगतमा भएको सहमति कार्यान्वयन नभएकाले आफूहरू आन्दोलनमा उत्रिनु परेको हो। महासंघले २० भदौसम्म धर्ना जारी राख्ने जनाएको छ।
महासंघले अस्थायी शिक्षक पदपूर्तिमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्ने माग गर्दै आएको छ तर विधेयकमा ६०-४० को प्रावधान राखिएको छ। साथै, विद्यालय कर्मचारीको पद–वेतन, बालकक्षा शिक्षकको सेवा सुविधा र संस्थागत विद्यालय शिक्षकको सरुवा प्रणालीप्रति पनि आपत्ति जनाइएको छ।
विद्यालय शिक्षा विधेयक भदौ ५ मा प्रतिनिधिसभामा पठाइएको हो। विधेयकमाथि माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरूले फरक मत राखेका छन्।