काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने अवसर दिए । ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग दलीयकरणमा फसेको भन्दै जनताले उठाएका गम्भीर विषयमा छानबिन नगर्ने गरेको आरोप लगाए ।
त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउ खरिद गर्ने वातावरण निर्माण गर्न माग राखे ।
बोल्ने समय पाएपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए ।
भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै रास्वपा र राप्रपा गत जेठ १३ गतेदेखि निरन्तर संसद्मा विरोध गर्दै आएका छन् ।