जुम्ला — जुम्लाको हिमा गाउँपालिका–५ बाझगाडस्थित भित्र वन भन्ने ठाउँमा बुधबार बिहान भालुको आक्रमणमा परी दुई जना घाइते भएका छन्।
गाईबस्तु चराउने क्रममा आक्रमण हुँदा सोही ठाउँका ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् भने ३५ वर्षीय गणेश रोकाया सामान्य घाइते भएको स्थानीयवासी दलबिर रोकायाले जानकारी दिए।
गम्भीर घाइते हरिचन्द्रलाई प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ। गणेश रोकायाको भने स्थानीयस्तरमै उपचार भइरहेको छ।
स्थानीयका अनुसार भालुले आक्रमणको क्रममा गाई–गोरु र भेडासमेत मारेको छ। घटनापछि गाउँभर त्रास फैलिएको छ।
वन नजिकै गाउँ भएकाले भालु आक्रमणका घटना बढ्दै गएको भन्दै स्थानीयले तत्काल नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।














