काठमाडौँ – एशोसिएशन अफ एग्रीकल्चरल टेक्नोलोजी ईन्डसट्री नेपाल (आटी नेपाल) ले Gen Z आन्दोलनमा शहीद घोषणा भएका प्रत्येक परिवारलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेको छ।
मिति २०८२ भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध सुशासन सहित जनताको अधिकारका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरी राज्यले शहीद घोषणा गरेका व्यक्तिहरुप्रति सम्मान प्रकट गर्दै संस्थाले यस्तो निर्णय गरेको हो।
आटी नेपालका अध्यक्ष खोजराज कटुवालद्वारा जारी विज्ञप्तिमा शहीद परिवारको सामाजिक तथा आर्थिक सबलीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। कार्यक्रम अन्तर्गत प्रत्येक परिवारबाट कम्तीमा एक जनालाई योग्यता अनुसार रोजगारी दिइनेछ।

रोजगारीका लागि उमेर, शैक्षिक योग्यता, सीप, अनुभव र दक्षताको आधारमा छनोट प्रक्रिया पूरा गरिने संस्थाले जनाएको छ। यस पहलले शहीद परिवारलाई आत्मनिर्भर जीवनयापन गर्न सहज बनाउने र राष्ट्र निर्माणमा सहभागिता जनाउन प्रेरित गर्ने विश्वास गरिएको छ।
यसका लागि शहीद परिवारका योग्य सदस्यहरुको नामावली, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र इमेल तथा Whatsapp नम्बरमा उपलब्ध गराउन संस्थाले आग्रह गरेको छ।











