जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये हालसम्म ६ हजार ९८४ जनालाई कारागारमा फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै ७ हजार ५७२ कैदीबन्दी फरार छन्।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पछिल्ला दुई दिनमा मात्र ६५६ जना फर्किएका छन्। कैदीबन्दीहरू दैनिकजसो आफैं कारागार फर्किरहेको र केहीलाई प्रहरीले पक्राउ गरेर ल्याइरहेको उनले बताए।
भदौ २४ गतेको प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएपछि १४ हजार ५५६ जना भागेका थिए भने १५ हजार ५२५ जना कैदीबन्दी नभागी बसेका थिए। ती कैदीबन्दी २८ कारागार र ९ सुधारगृहबाट फरार भएका हुन्।
बालसुधार गृहबाट मात्रै ९६३ जना भागेका थिए। यस्तै, प्रहरीले हिरासतमा राखेका २ हजार आरोपीसमेत फरार छन्। घटनामा १० कैदीबन्दीको मृत्यु भएको विभागले जनाएको छ।














