सिरहाको कल्याणपुर नगरपालिका–८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन्।
पीडित पक्षले १३ जनाविरुद्ध आपराधिक उपद्रवको आरोपमा जाहेरी दिएपछि प्रहरीले यादवलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएका छन्।
जाहेरी परेकामध्ये यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको र अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि तोडफोड र लुटपाटमा संलग्नताको अनुसन्धान भइरहेको छ।
गत शुक्रबार साँझ करिब ५ बजे प्रहरीकै उपस्थितिमा स्थानीय राजकुमार सिंह, प्रभाष सिंह, नितेश सिंह, शैलेन्द्र सिंहलगायत २०–२५ जनाको समूहले दलित समुदायका शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानको घर तोडफोड र लुटपाट गरेको पीडितको आरोप छ।
घटना असोज १ गते विश्वकर्मा पूजाको दिन भएको विवादपछि भएको बताइएको छ। प्रभाषसहितले दलित समुदायसँग आर्केस्ट्रा स्थलमा झगडा गरेपछि त्यसको बदला स्वरूप घर तोडफोड गरिएको स्थानीयको भनाइ छ।














