चितवनमा आज बिहान भएको सवारी दुर्घटनामा दुई युवाले ज्यान गुमाएका छन्। भरतपुर विमानस्थल नजिकै स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बागमती प्रदेश ०६–००३ प ०६९२ नम्बरको स्कुटर आज बिहान भरतपुर–१० स्थित विमानस्थल नजिकै आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै जनाको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।













