कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा गायिका नितु पौडेलको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको मृत्यु शुक्रबार बिहान साढे ८ बजे भएको हो।
गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन्। आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएकी उनी तत्काल उपचारका लागि अस्पताल लगिएकी थिइन्।
यस घटनासम्बन्धी अनुसन्धानको क्रममा प्रहरीले गायक बाबुल गिरीलाई सोधपुछ गरेको थियो। प्रहरीले भने गिरीसँग सम्पर्क कायम राखेको बताएको छ। एसपी भट्टराईका अनुसार यस घटनामा कुनै जाहेरी दर्ता भएको छैन।
गायिका पौडेलको निधनले नेपाली सङ्गीत क्षेत्र र उनका प्रशंसकहरूमा शोकको छाया फैलिएको छ।














