डोटीबाट डडेल्धुरा आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। लुम्बिनी प्रदेश ०१–००१ च ३३०१ नम्बरको बोलेरो जिप गन्यापधुरा गाउँपालिका–३ मछली खोलामा सडकमा पल्टिँदा पाँच जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख श्यामराज बोहराले जानकारी दिएका छन्।
जिपमा १३ जना सवार थिए। ती सबै तिहारको अवसरमा भैलो खेलेर उग्रतारा मन्दिर पिकनिकका लागि निस्किएका थिए। दुर्घटनामा सायल गाउँपालिकाकी १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद, १९ वर्षका मदन साउँद र १६ वर्षका केशव साउँद घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।












