उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिट खारेज गरेको छ।
पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट बुधबार उच्च अदालत पाटनको संयुक्त इजलासले खारेज गरेको हो। न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको इजलासले रिट खारेज गरेको अदालत स्रोतले जनाएको छ।
महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको आरोपमा पाण्डे ६ महिनाका लागि निलम्बित भएका थिए। सो घटनासम्बन्धी छानबिन जारी रहँदा उनले निलम्बनविरुद्ध अदालतमा रिट दायर गरेका थिए।
तर अदालतले बुधबारको आदेशमार्फत उनको रिट खारेज गर्दै निलम्बन कायम राख्ने निर्णय गरेको हो।













