वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले निर्वाचन आयोगमा दिएका दल दर्ताको निवेदन फिर्ता लिन औपचारिक रूपमा आवेदन दिएका छन्।
गत असोज ९ गते भण्डारीले ‘नेपाल नागरिक पार्टी’ नामक राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। बिहीबार उनी पुनः आयोग पुगेर उक्त दल दर्ताको निवेदन फिर्ता गर्न माग गर्दै निवेदन दिएका हुन्।
दल दर्ताको निवेदन दिँदा ५४ जना सदस्यको समर्थनमा भण्डारीले नयाँ दल गठन गर्ने घोषणा गरेका थिए। देशभक्ति, नागरिकतन्त्र र प्रगतिशीलताको सिद्धान्तमा विश्वास गर्ने नागरिकहरूको प्रतिनिधित्व गर्ने दाबी गर्दै उनले पार्टी दर्ता प्रक्रिया अघि बढाएका थिए।
तर केही दिनमै भण्डारी आफ्नो निर्णयबाट पछाडि हटेका छन्। उनले २१ औँ शताब्दीमा गरिबी अस्वीकार्य हुने र राजनीति संविधानवादको सीमाभित्र सीमित हुनुपर्ने बताएका थिए।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दल दर्ताको निवेदन फिर्ता गर्न आएको आवेदनमाथि अहिले निर्णय प्रक्रियामा रहेको छ। उनले भने दल दर्ताको निवेदन फिर्ता लिन निवेदन आएको छ तर फिर्ताको निर्णय हुन बाँकी छ।
 
			 
                                 
		     
                                





 
							







