कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी आज शनिबार सनातन धर्मावलम्बीहरूले तुलसी विवाह गरी श्रद्धा र भक्तिसाथ मनाइरहेका छन्।
आषाढ शुक्ल एकादशीका दिन तुलसी रोपेर चतुर्मासभर विष्णुप्रियाका रूपमा पूजा गर्ने र आज अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा रहेको छ।
पौराणिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयनमा गएका भगवान् विष्णु आजका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधिनी एकादशी भनिन्छ। हरि अर्थात् विष्णु र बोधिनी अर्थात् उठ्ने भएकाले यस दिनको विशेष धार्मिक महत्त्व रहेको जनाइन्छ।
भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीभन्दा आजको दिन गरिने स्नान, दान, तप, उपवास र भगवान् विष्णुको आराधनाले अक्षय फल प्रदान गर्छ। भगवान् कृष्णले युधिष्ठिरलाई पनि यस दिनको आराधना विशेष फलदायी हुने बताएको उल्लेख छ।
पञ्चाङ्गका अनुसार शनिबार राति २ बजेर ५६ मिनेटसम्म एकादशी तिथि रहनेछ। आजकै दिनदेखि भीष्म पञ्चक आरम्भ हुने भएकाले भक्तजनले पाँच दिनसम्म भगवान् विष्णुको विशेष पूजा–आराधना गर्ने परम्परा छ।
देशभरका नारायण मन्दिरहरूमा आज भक्तजनहरूको घुइँचो लागेको छ।














