कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा आज बिहान एक यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको ना ७ ख ६१८२ नम्बरको बस दुर्घटनामा परि कृष्णपुर–१ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दुर्घटनामा घाइते भएका बोहरालाई उपचारका लागि वाणी अस्पतालमा लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। बसमा सवार अन्य चार जना सकुशल रहेका छन्।
प्रहरीले बस चालक वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारण सम्बन्धमा अनुसन्धान जारी छ।













