राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बुधबार) दिउँसो २ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ। प्रवक्ता मनिष झाका अनुसार बैठकका लागि १० बुँदे कार्यसूची तय गरिएको छ।
बैठकमा सभापति रवि लामिछानेसम्बन्धी मुद्दाको कानुनी अवस्थाबारे जानकारी प्रस्तुत गरिनेछ। साथै समसामयिक राजनीतिक स्थिति, संवाद तथा सहकार्यका पहलकदमीबारे पनि विस्तृत छलफल हुनेछ।
यसैगरी केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, त्यस बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन गरेर पारित गर्ने र वाचापत्र कार्यदल विस्तार गर्ने तयारी बैठकको मुख्य एजेन्डामा परेका छन्।
रास्वपाले संविधान परिमार्जन कार्यदलका संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न निर्देशन दिनेछ। साथै आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन तथा विश्लेषण गर्ने उद्देश्यले मिडिया अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गर्नेछ।
उक्त कार्यदललाई आवश्यकताअनुसार घटनाबारे जानकारी संकलन गरी केन्द्रीय समितिमा नियमित रूपमा ब्रिफिङ गर्ने जिम्मेवारी दिइनेछ।
यता राजनीतिक दल तथा विभिन्न शक्तिहरूको गतिविधि नियमित अध्ययन, विश्लेषण र ब्रिफिङ गर्ने गरी राजनीति अध्ययन कार्यदल गठन गर्ने प्रस्ताव पनि आजको बैठकको कार्यसूचीमा परेको रास्वपाले जनाएको छ।










